National
आँधीखोला तमु समाजको घाँटु
- Details
- Category: National
- Published on Thursday, 09 April 2009 14:06
- Written by तेज बहादुर तमु (मल्याङ्कोट, तल्लो च्यारे)
- Hits: 7265

आँधीखोला तमु समाजले यही चैत्र २६ २७ र २८ गते घाँटु नृत्य प्रस्तुत गर्ने भएको छ । नेपालको आदिवासी जनजाति मध्ये गुरुङजाति एक हो । यस जातिमा रहेको परम्परागत संस्कृति मध्ये एक जीवित संस्कृति घाँटु नृत्य हो । जुन गुरुङजातिमा परापूर्वकालदेखि चलि आएको छ । गुरुङजातिमा प्रचलित यो घाँटु नृत्य तीन किसिमको पाइन्छ । सति बाह्रमासे र कुसुण्डा । आँधी खोला तमु समाजले प्रस्तुत गर्न गैरहेको घाँटु सति घाँटु हो । यसमा घटुली कन्या नै हुनुपर्छ र संख्या विजोर हुनुपर्छ ।
सति घाँटु अनुष्ठानिक लोक नृत्य हो । यसको थालनी लिपपोत चोखो निम्ठो धुप धयँर गरेर विधि विधानपूर्वक गरिन्छ र यसको समापन पनि विवि विधानपूर्वक गरिनुपर्छ । अन्यथा अनिष्ट पनि हुन सक्छ भन्ने लोक विश्वास रहेको छ । यो नृत्य प्रस्तुतिमा देखिने विभिन्न लक्षण आदिले त्यस वर्षको सगुन अपसगुन निष्ट अनिष्ट प्रष्ट देखिन्छ भन्ने लोक मान्यता रहेको छ । त्यसैले यसलाई विथोल्न किचंगलो गर्न मनाही गरिन्छ ।
{yahoo}5173144/13681048{/yahoo}
आँधीखोला तमु समाज पोखराको सती घाँटु चैत्र २०६६ भिडियो झलक
नृत्य प्रस्तुती सुरु भएपछि अन्त्य नभएसम्म त्यहाँ कुनै किसिमको वाधा व्यवधान खडा गर्नु हुंदैन । यति विधि जटिल भए पनि घाँटु नृत्यले संगी साथी टोल छिमेक इष्ट मित्र एक गाउँदेखि अर्को गाउँ र देश विदेशसम्म मैत्री सद्भावको सन्देश दिने भएकोले यो नृत्य प्रस्तुत गर्न लागिएको कुरा समाजका अध्यक्ष भन्नुहुन्छ । धार्मिक सांस्कृतिक पहिचान गरौं सामाजिक जागरण ल्याऔं” भन्ने उद्देश्य लिई २०६५।११।२१ गते बुधबार समाजले घाँटु नाँचको वृहत् अन्तकिर््रया कार्यक्रम सम्पन्न गर्यो । जसमा प्रमुख अतिथि घाँटुको गुरुआमा ८८ वर्षीय पियारी तमु हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा क्या. भुवनिसंह तमु टेक बहादुर तमु थिए ।
घाँटु नृत्य गर्नु अघि गाउँभरीका संगी साथी मिल्छन् । घाँटु नृत्य गर्ने सल्लाह गर्छन् । गुरुआमा स्थापना गर्नको निमित्त गुरुआमालाई कोसेली लिएर जान्छन् । गुरुआमाले कोसेली स्वीकार गरेमा नृत्य संचालन हुने संकेत पाउँछन् । त्यसको खुशीयालीमा सबैले हाँसखेल नाँच गान गरेर हर्ष प्रकट गर्दछन् । एकापसमा खुशीयाली बाँडदछन् । नृत्य प्रस्तुती गर्नुभन्दा पहिले एकमहिना अघिदेखि नै नृत्य प्रशिक्षण सुरु गर्दछन् ।
वास्तवमा घाँटु नृत्य प्रस्तुती अत्यन्त जटील हुन्छ । यसमा परशुराम राजा र याम्वावती रानी राजकुमार राजकुमारीहरुको करुण कहानी प्रस्तुत गरिएको हुन्छ । त्यसरी नै घँटुली घाँटु नाँच्ने कलाकार लाई श्रृंगारपटार गर्न खानपीनको व्यवस्था मिलाउने र नृत्य प्रस्तुतीको लागि आवश्यक सामाग्री जुटाउन सुसारे महिला र पुरुषहरु खटिएका हुन्छन् । यो नृत्य ३ दिनसम्म संचालन हुन्छ । त्यतिन्जेलसम्म ती कलाकारहरु गुरुआमा र सुसारेहरुको रेखदेखमा हुन्छन् । घटुलीलाई नृत्य स्थल बाहेक अन्यत्र हिंडडुल गर्न मनाही हुन्छ ।
घाँटु नृत्यलाई तीन चरणमा विभाजन गर्न सकिन्छ । थालनी रमाइलो अनि अन्त्यष्टी । यसरी विधिविधानपूर्वक सुरु र अन्त्य गरी वर्षभरीको लागि शुभसन्देश दिएर खेतीपाती गर्नतिर व्यस्त हुन्छन् । वर्षायाममा खेतीपातीको काम सुरु भएपछि त्यो घाँटु गीत गाउन पनि हुंदैन भन्ने लोक विश्वास रहेको पाइन्छ ।
गुरुआमाहरुः पियारी तमु, कोपी तमु, धुरपति तमु, कृष्ण कुमारी तमु, शिरमाया तमु.
घँटुली घाँटु कलाकारहरुः सोनी तमु, खिमा तमु, डेविसा तमु, जुना तमु, रोशनी तमु, रोजी तमु, रेखा तमु, मनिसा तमु, रेनु तमु

