MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Politics

जातीय र क्षेत्रीय आधारको संघीयताले विखण्डन निम्त्याउछ

राष्ट्रिय जनमोर्चाका सचिव कृष्ण अधिकारीले संघियताको नाममा मुलुकलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा स्याङ्जाद्धारा आज सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीयता एक मधेश एक प्रदेश जातिय राज्य आत्म निर्णयको अधिकार जस्ता विषयले जातीय र क्षेत्रीय द्धन्द्ध बढ्ने र मुलुकको सार्वभौमिकता कम्जोर तथा राष्ट्र विखण्डन हुने खतरा विरुद्ध पार्टीले सवैलाई सचेत गराइएको स्मरण गर्दै मुलुक अनन्त द्धन्दमा फस्न सक्ने चेतावनी दिनुभएको छ ।


मुलुकलाई जातीय क्षेत्रीय वा कुनैपनि ढाँचाको संघीयतामा विभाजन गरिएमा जनआन्दोलन ०६२/६३ को उपलव्धी समेत गुम्ने र पूजिँबादी गणतन्त्रलाई संस्थागत गर्न समेत जटिलता उत्पन्न हुने दावी गर्नुभयो । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा प्रजातान्त्रिक विकेन्द्रीकरणमा आधारित स्थानीय स्वशासन सहितको एकात्मक शासन प्रणालीको आधारमा राज्यको पुनसर्ंरचना गर्न जोड दिइएको छ ।


यसैवीच राष्ट्रिय जनमोर्चाको दोश्रो राष्ट्रिय सम्मेलन आगामी वैशाख १३ देखि १५ गतेसम्म पोखरामा हुने सम्मेलनलाई सफल पार्न राष्ट्रिय जनमोर्चा स्याङ्जाले अध्यक्ष राजेन्द्र गैरेको संयोजकत्वमा ५१ सदस्यीय मुल व्यवस्थापन समिति लालबहादुर रानाको संयोजकत्वमा प्रचारप्रसार समिति र प्रकाश परियारको संयोजकत्वमा आर्थिक उपसमिति समेत गठन गरेको जानकारी गराइएको थियो । ६९ जिल्लाका प्रतिनिधि र प्रवासी आमन्त्रित प्रतिनिधी पर्यवेक्षक गरी करिब १२ सयको सहभागिता रहने सम्मेलनमा स्याङ्जाबाट ७ प्रतिनिधि र ३ पर्यबेक्षक चयन गरिएको छ ।


पत्रकार सम्मेलनमा आगामी चैत्र २० गते गल्याङ्गदेखि स्याङ्जासम्म प्रचारप्रसारका लागि मोटरसाइकल र् याली गर्ने बताइएको थियो । कार्यक्रम जनमोर्चाका अध्यक्ष राजेन्द्र गैरेको अध्यक्षतामा सम्पन्न भएको हो ।