
आज भन्दा ७४ बर्ष अगाडी बिक्रम सम्बत १९९३ साल माघ ११ गते स्याङ्जा जिल्ला, फेदिखोला गाबिस वार्ड नं ६ साल्मी गाउँ सामान्य परिवारमा बुवा देव बहादुर गुरुङ र आमा बुद्धिश्री गुरुङ्का माईला छोराका रुपमा जन्मनु भएका हर्क बहादुर गुरुङ सानै उमेर देखि गीत-संगितमा खुबै रुची राख्नुहुन्थ्यो। घर नजिकैको दामगाडे स्कुलबाट वहाँले आफ्नो प्रारम्भिक शिक्षा शुरु गर्नु भयो। अलि ठुलो भएपछी वहाँले दौंतरी साथीभाईहरुसंग मिली गाउँ-घरमा चल्ने सुनिमाया र यानिमाया भाकाका गीतहरुमा आफ्नो मिठो स्वर र लय मिलाउन शुरुगर्नु भयो। गीत गायन प्रतिको वहाँको अत्याधिक लगावको कारणले गर्दा शैक्षिक क्षेत्रमा वहाँले चाहेजति प्रगती गर्न सक्नु भएन। दामगाडे बाट शुरु भएको वहाँको शैक्षिक यात्रा पोखराको मल्टिपल हाइस्कुल हुंदै काठमाण्डौको जुद्दोदय हाइस्कुल सम्म पुग्यो र त्यहिंबाटै वहाँले प्रवेशिका पास गर्नु भयो। त्यसपछि वहाँ संपुर्णरुपमा आफ्नो रुचीको बिषय गायन क्षेत्रमा लाग्नु भयो। त्यति बेलाको अनपढ अनि कुरिती र बिसंगतीले भरिएको आफ्नो समाजको अवस्था देख्दा वहाँको मन छिया छिया हुन्थ्यो। बाहिरी विश्व चन्द्रमामा मानिस उतार्न होडबाजी गरिरहेका बेला हाम्रो समाज त्यसलाई दैवी शक्तिपिठ मानेर पुज्दै अध्यारोमा रुमलिंदै थियो। यसको कारक तत्व सामजिक कुसंस्कार र बिकृतिले पुरिएर रहेको ज्ञान र शिक्षाको अभाव नै हो भन्ने वहाँको ठहर थियो। त्यसैले वहाँले सामाजिक जागरण ल्याउनकालागि विशेष गरि आफ्नो स्थानिय गुरुङ भाषा र नेपाली भाषामा थुप्रै गीत कविताहरु रचना गरी गाउँ-टोल, मेला-पात सबैतिर सुनाउँदै हिड्नु भयो। वहाँका गीतहरु यति कर्णप्रिय र ह्रिदयस्पर्शी थिए की ती गीतहरु सुनेर दर्शक श्रोताहरु भक्कानो हालेर रुन्थे। वहाँले विशेषगरि समाजमा ब्याप्त कुसंस्कारहरु, छोरी चेलीहरुको जबर्जस्ती बिवाह, बहु-बिवाह, छोरी चेलीहरुलाई शिक्षाको बदला गर गहनाले सजाउने होडबाजी, संस्कृतिको नाममा फजुल खर्च, जुवातास, जाँडरक्सी सेवन र बिदेशी सेनामा भर्ती हुने चलनका बिरुद्द जनचेतना जगाउन त्यसका मर्महरुलाई सरल शब्द, मिठो स्वर र लयमा ब्यक्त गर्दै जानुभयो। वहाँका ती गीत रचनाबाट प्रभाबित भएर तत्कालिन केही समाजसेवीहरुले त्यसलाई लिपिबद्द गरि एउटा गीती पुस्तक प्रकाशन गर्न सघाउनु भयो। प्रकशित पुस्तक गाउँ-टोल्, शहर-बजार जताततै फैलियो। वहाँका ती गीतहरु हरेक मेला-पात्, जात्रा जमघट्, चाडवाडमा जताततै गुन्जन थाल्यो। वहाँ आफैं पनि ती समाजमा बिद्यमान कुसंस्कार र कुरितीहरु बिरुद्द जनचेतना जगाउने मीठा गीतहरुलाई स्याङ्जा, काश्की, पर्बत, तनहुं, लमजुंग जिल्लाका बिभिन्न गाउँघर, मेला-जात्रामा गएर घन्काउनु भयो। यस क्रममा कुनै ठाउँमा वहाँलाई 'पढेलेखेको जवान मान्छे, बिदेशी सेनामा भर्ती नभैकन गाइने जसरी गाउँघर चाहर्दै गीत गाउंदै हिड्ने' भनी अपहेलना गर्ने प्रयास पनि भयो। तर जव वहाँका मिठो स्वर र लयमा स्थानिय बेदना र त्यसको उन्मुक्तिका शब्दहरु गुन्जन थाल्दथे, तब सबै दर्शक श्रोता मन्त्र मुग्ध हुन्थे। वहाँले आफ्नो बल बुताले भ्याएसम्म आफ्नो जन-चेतना बिस्तारको अभियानलाई कायम राखनुभयो। वहाँको लोकप्रियता आफ्नो जन्मस्थान फेदिखोला भन्दा बाहिर धेरै टाढा-टाढासम्म फैलिंदै गयो। वहाँको सर्बाधिक चर्चित गुरुङ गीत 'क्युदी थुँलेन् दु:ख मुन वर्ष मुलरि खैले ह्याबा खैले टीबा आगुइ ह्युलरि'(वर्षाको याममा समेत पिउने पानीको समस्या भएको, कसरी जाने कसरी बस्ने त्यो पराइ ठाउँमा) आज पर्यन्त सर्वप्रिय तमु गीतको रुपमा रहेको छ।
बि सं २०१७-१८ सालतिर एक पटक वहाँले तत्कालिन अक्राङ गाउँका मुखिया(माइला सुब्दार्) स्वर्गिय श्री पदम बहादुर गुरुङको घरमा बिशेष कार्यक्रम गरि वरपर सबैलाई बोलाएर आफ्ना गीतहरु सबैलाई सुनाउनु भएको थियो। त्यस कार्यक्रममा उपस्थित स्थानिय श्री दुर्गा बहादुर गुरुङ र बाबुलाल गुरुङ उक्त कार्यक्रमको रौनक अझैपनि झल्झली सम्झनु हुन्छ, जुनबेला वहाँहरु धेरै सानो हुनु हुन्थ्यो। त्यसैगरी काश्की जिल्ला अन्तर्गत निर्मल पोखरीको एउटा कार्यक्रममा वहाँको गीत सुनेर स्थानिय महिला दिदी बहिनीहरु डाँको छाडेर रुँदा कार्यक्रम नै केहिबेर रोक्नु परेको थियो। यसरी दर्शक श्रोताको मनभित्र पसेर उनीहरुको दु:ख पिडालाई शब्दमा उनेर मिठो स्वरमा लयबद्द गर्न सिपालु श्री हर्क बहादुर गुरुङ्का धेरैजसो गीत रचनाहरु संकलन र प्रकाशनको अभावमा त्यसै हराएर गए, त्यति मात्र हैन प्रकाशित गीतहरुलाई संगितबद्द गरी संग्रह गर्न नसक्दा हाम्रो पुस्ताले त्यसलाई हु बहु श्रवण गर्न पाएनौं। यो हाम्रा लागि ठुलो दुर्भाग्य हो। आज वहाँका केही गीतहरु बिभिन्न गायक गायिकाको स्वरमा संगितबद्द भै बजारमा उपलब्ध छ तर त्यहाँ वहाँको नाम सम्म हुँदैन, यसबाट वहाँको आधिकारिकतामा समेत आँच आएको हामीले अनुभव गरेका छौं।
आज भन्दा आधा शताब्दी अगाडी हाम्रो समाजलाई समुन्नत बनाउन त्यसलाई जेलेर रहेको बिकृति र बिसंगतिको काँडा पन्छाउंदै अगाडि बढ्न हामीलाई गीत र कबिताको माध्यमबाट मार्ग दर्शन गराउनुहुने हाम्रा अग्रज श्रश्टा श्री हर्क बहादुर गुरुङ विशेष गरी गुरुङ समाजको एउटा नक्षत्र हुनुहुन्छ। वहाँले गण्डक क्षेत्रमा प्रसस्त बोलिने गुरुङ्(तमु) भाषामा सर्वप्रथम गीतकबिताहरु रचना गरी गुरुङ समुदायमा जनचेतना फैलाउने अभियान शुरु गर्नुभएको थियो। देशभित्रका सबै जाति, वर्ग र समुदाय समुन्नत भएर नै त देशको बिकास हुन्छ। तर राज्यको एक देश एक भाषाको निती अन्तर्गत खुम्चिएर रहेको वहाँको योगदान प्रजातन्त्रको उदयपछि बल्ल सर्बसाधारणको जानकारीमा आयो अनि वहाँलाई गुरुङ अथवा तमु भाषाका आदिकवि घोषणा गरियो। सामजिक संघ संस्थाहरु पनि थुप्रै खुले, त्यसपछि त वहाँलाई मान सम्मानको ओइरोनै लाग्यो तर त्यति बेला वहाँका ती श्रीजनात्मक कोष र जोशहरु सबै थाकीसकेका थिए, जनचेतनाको अभियानले विश्राम लीई सकेको थियो। सामान्य जीवनशैली मन पराउने अनि परिवार भित्रै रमाउन चाहने तमु आदिकबि श्री हर्क बहादुर गुरुङको जीवनमा, आदिकबि लक्ष्मी प्रसाद देवकोटाको जीवनमा सधैं लक्ष्मीको अभाव भए झै वहाँको जीवनमा पनि हर्षको अभाव खड्की रह्यो। वहाँ साह्रै सरल र अन्तर्मुखी स्वभावको हुनुहुन्थ्यो। यही कारणले गर्दा वहाँ प्रतिभा र योग्यता भैकन पनि धेरै ओझेलमा पर्नु भयो। वहाँ आफुले प्रारम्भिक शिक्षा पाएको दामगाडे स्कुलमा पहिले अध्यापक र पछि प्रधानअध्यापक भै केही काल सेवा गर्नुभयो। त्यसपछि सरकारी जागिरको क्रममा स्याङ्जा र कास्की जिल्लाका माल्पोत कार्यालय र सहकारी कार्यालयमा खरदार पदमा रही सेवा गर्नुभयो। त्यसैले वहाँलाई नजिकबाट चिन्नेहरु खर्दार हर्क बहादुर या साल्मी म्हाईला पनि भन्छन्। सरकारी जागिर पछि, वहाँ स्थायी बसोबासगर्दै आउनु भएको फेदिखोला बजार नजिकैको स्कुलमा र बेला बखत वरपर प्रौड शिक्षा पढाउनु को साथै स्थानिय फेदिखोला समाजको जिम्मेवार पदमा रही बिकास निर्माणमा सक्दो योगदान दिंदैजानुभयो। कुनै जमानामा वहाँ र नेपालकै चिरपरिचित विद्वान डा स्वर्गिय श्री हर्क गुरुङ घनिष्ट मित्र रही मितेरी समेत लगाउनु भएको थियो। पढाईको सिल्सिलामा वहाँहरु निकै लामो समय एउटै कोठामा सगै बस्नु भयो। ती गौरवका दिनहरु वहाँ जिवनको अन्त्यसम्म सम्झिरहनु हुन्थ्यो।
जीवनको अन्तिम अवस्थामा वहाँ मधुमेह, रक्तचाप र कमलपित्त सम्बन्धी रोगबाट पिडित भै काठमाण्डौ स्थित नर्भिक हस्पिटलमा भर्ना गराइनु भएको थियो। यही क्रममा गत २०६७ साल साउन १ गते वहाँको स्वर्गबास भयो । भोलिपल्ट साउन २ गते पोखरा बौद्ध सदनमा बिशेष कार्यक्रम र सम्मानका साथ वहाँको दाह संस्कार गरियो। वहाँको श्रीमती, एक छोरा अर्जुन गुरुङ र एक छोरी बन्दना गुरुङ हुनुहुन्छ। आज वहाँको पार्थिव शरिर हामी बीच छैन तापनि वहाँका बिचार् र वहाँले देखाएका बाटाहरु हाम्रा अगाडि लमतन्न पसारिएका छन्। हामीले यसलाई पछ्याउदै एउटा समुन्नत समाजको निर्माण गर्नु छ। आज वहाँको तेह्रौं पुन्य तिथी, म अनि समस्त फेदिखोला सेरोफेरो समाज हङ्कङ परिवार वहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौँ । नमस्कार !
जित गुरुङ
फेदिखोला सेरोफेरो समाज हङ्कङ
१३ साउन २०६७








Comments
First of all, I would like to pay my inner respect to Late Mr. Hark Gurung. I remember in our Committee meeting you have mentioned his poetic story and social contribution to our gurung society. I am confident that his good works and excellant poetic compositions are well recognized by all of our nepalese community.
I pray to god for his peaceful soul.
Sudhir
And I believed lord Budha is keeping him properly in heaven
wishing you all the best,
see you sometime,raja
thanks.
मुक काजी गुरुङ्
मेरो स्याङ्जा डट कम,हङ्कङ् ।
आदि कवि स्व हर्क गुरुङ तमुको १३ औं तिथिमा उहाको पार्थिव शरिर भगवान बुद्धको कोखमा बास गरुन् भनि प्राथना गर्दछु । यो तपाईको सराहनीय लेखप्रति धन्यवाद । कुपया उहाको वुवाको नाम देवबहादुर तमु र उहाको उमेर ७५ बर्ष, उहाको सुगर प्रेसर र अन्त्यमा कमलपित्त को उपचार गर्दा गर्दै वित्नुभएको हो र उहालाई गाउघरमा साल्मी माइला वा खरदार माइला भनि संवोधन गर्दछन् । कृपया आप्पाको नाम सच्याइदिनु भए राम्रो हुने थियो कि ? अव तपाई हामी मिली केही गर्नुपर्छ । उहाको नामलाई सदा आजिवन बनाइराख्नुपर्छ धन्यवाद।
AAdikabi ko 13 tithi ma waha ko parthik sarir bhagwan budha ko kakh ma bas garun........
artical ka bare ma jyadai dukhad @ ramro lagyo.
waha ko apa Dev Bahadur Tamu @umer 75 years vako hola
ra waha lai gaun ghar ma SALMEE MAHILA bhani parichit hunuhun6a.
plz correct it.